Matthew 17

1छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो । 2उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो ।

3हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे । 4पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्‍थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”

5जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।” 6जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए । 7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।” 8त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।

9जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।” 10उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्‍त्रीहरू किन भन्छन् त ?”

11येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् । 12तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले उनलाई चिनेनन् । त्यसको बदला, तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे । त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्‍नेछन् ।” 13अनि उहाँले बप्‍तिस्मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्‍ने कुरा चेलाहरूले बुझे ।

14जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो, 15“प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ । 16मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।”

17येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्‍ने ? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने ? उसलाई यता मकहाँ ल्याओ ।” 18येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।

19त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ ?” 20येशूले उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन । 21तर यस्तो किसिमको भूतात्माचाहिँ प्रार्थना र उपवासविना बाहिर निस्कँदैन ।”

22जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् । 23र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन् ।” चेलाहरू औधी दुःखित भए ।

24जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन् ?” 25उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन् ? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट ?”

26जब पत्रुसले “परदेशीहरूबाट” भनेर भने, येशूले उनलाई भन्‍नुभयो, “त्यसो भए, प्रजाहरूचाहिँ कर तिर्नबाट मुक्त हुन्छन् । हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”

27

Copyright information for NepULB